दूतावासको युवा परिषदका ती सल्लाहकार विभिन्न राजनीतिक आस्थाका विद्यार्थी नेतादेखि उद्यमी, चिकित्सक, खेलाडी, फिल्ममेकर, पत्रकार आदि छन्। दृष्टिविहीन, तेस्रोलिंगी, दलित एवं विपन्न वर्गका युवासमेत संलग्न परिषदमा सबैका आ-आफ्नै व्यक्तिगत कथा छन्। काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेका कञ्चन खरेलसुनाउँछन्, "राजदूत र उनको टोलीसँगको कुराकानीमा हाम्रा अभाव, नैराश्य र समस्या स्वाभाविक रूपमा झल्किन्छन्।" बर्सेनि झन्डै आठ करोड अमेरिकी डलर नेपालमा सहयोगस्वरूप खन्याउने अमेरिकालाई सायद त्यसले आफ्नो प्राथमिकता र रणनीति तय गर्न सघाउँदो हो।
स्थानीय युवासँग सल्लाह र छलफल गर्ने अमेरिकी परिपाटीको नेपालमै सफल अभ्यास भएपछि अहिले विश्वका ५० भन्दा बढी देशमा यो मोडलको सिको गरिएको छ। युवाका आवाज सुन्ने र उनीहरूसँगै काम गर्नुपर्ने आवश्यकता महसुस गरेसँगै सन् २०११ मा अमेरिकाले नेपालमा 'राजदूतको युवा सल्लाहकार परिषद' स्थापना गरेको हो। त्यस बेला स्कट एच डेलिसीराजदूत थिए।
नेपालमा सफल अभ्यासपछि तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अमेरिकी विदेश मन्त्रालयमा 'स्पेसल एडभाइजर अन ग्लोबल युथ इन्गेजमेन्ट' पद सिर्जना गरी यसलाई विश्वव्यापी कार्यक्रम बनाएकी थिइन्। "नेपालबाट सुरु भएको यो कार्यक्रम अहिले विश्वव्यापी हुनु निकै गर्वको विषय हो," राजदूत बोडी भन्छन्, "नेपाली विविधता प्रतिनिधित्व गर्ने गरी परिषदमा युवा सहभागिता जुटाउने प्रयास छ, जसको उद्देश्य दूतावासलाई नेपाली युवाका वास्तविक मुद्दासँग जोड्ने र त्यसमा अन्तरक्रिया गराउने हुन्छ।"
परिषद सञ्चालनको शैली भने हरेक देशको स्थानीय आवश्यकता अनुसार केही फरक हुन्छ। अघिल्लो परिषदका युवाले कहिले नेपाली नेतालाई राम्ररी काम गर्न सम्झाइदिन त कहिले नेपाललाई सहयोग मात्रै दिएर परनिर्भर नपार्न राजदूतसँग खुलस्त छलफल गर्थे। "हामी अमेरिकी सहयोग नियोग (यूएसएड)को कामका प्राथमिकता र त्यसका स्थानीय साझेदार कसरी तय हुन्छन् भन्ने विषयमा पनि छलफल गथ्र्यौं," पछिल्लो कार्यकालका सदस्य एवं युवा अभियानकर्ता कञ्चन झा भन्छन्, "यसले उनीहरूलाई कमजोरी सुधार्न सहयोग पुग्थ्यो। उनीहरू यस्ता कुरा सुन्न रुचाउँथे पनि।"
राजदूत कहिले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषयमा युवाको विचार बुझ्छन् त कहिले कलेजमा हुने विद्यार्थी राजनीतिबारे। निर्वाचनलाई प्राविधिक रूपमा प्रभावकारी गराउनेदेखि युवामा उद्यमशीलता विकास गराउने विषयमा समेत राजदूतको जोड हुन्छ। केही समयअघि एउटा भेटघाटमा केही परिषद सदस्यले अब हुने निर्वाचनमा भोट हाल्ने वातावरण सिर्जनाका गर्न लागि युवालाई प्रोत्साहन गर्ने अभियान सुनाएका रहेछन्।
त्यसमा खुसी हुँदै बोडीले अमेरिकामा चुनावका बेला थुप्रै युवा घरमै बस्ने गरेको समस्यासमेत पोखे। उनले परिषदका सदस्यलाई भने, "यदि कसैले भोट हाल्दैन भने उसलाई चुनाव जित्नेहरूप्रति गुनासो गर्ने कुनै अधिकार हुँदैन।" अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य मेनका पछाईं सुनाउँछिन्, "प्रविधिको प्रयोगबाट निर्वाचनलाई निष्पक्ष र प्रभावकारी बनाउने विषयमा आफ्ना मत राख्दै त्यसमा अमेरिकी सरकारका तर्फबाट हुन सक्ने सहयोगका बारेमा छलफल गर्यौँ।"
परिषदमा रहेका केही युवा पढ्दै छन् भने केहीले व्यावसायिक जीवन थालेका छन्। कोही आफ्नै बाहुबलमा समाजसेवा गर्दै छन्। कूटनीतिक शिष्टाचार उनीहरूलाई त्यति धेरै थाहा छैन। परिषद सदस्य करुणा पराजुलीले हालैको भेटमा राजदूत बोडीलाई भनेकी रहिछन्, "हामी धेरै भूमिका बाँध्न जान्दैनौँ, धेरै सोचविचार गर्नुभन्दा तत्काल प्रतिक्रिया जनाउन हतारिन्छौँ, त्यसलाई नकारात्मक रूपमा लिनुहुँदैन।" प्रतिक्रियामा राजदूतले मुस्कुराउँदै भने, "कूटनीतिज्ञ भनेकै धेरै सुन्ने र थोरै मात्र बोल्ने व्यक्ति हुन्।"
राजदूत बोडी राजनीतिक विषयका कुरा सुन्न बढी रुचाउँछन्। सदस्य मेनका थप्छिन्, "राजनीतिलाई बिर्सेर देशको उन्नति हुँदैन। राजनीति भनेको सांसद, मन्त्री हुनु मात्र होइन। युवामा राजनीतिक सचेतना बढाउन दुई मुलुकबीच कस्तो साझेदारी हुन सक्छ भन्ने हाम्रो चासो हो।"
परिषद स्थापनाको उद्देश्य भने ठूलो आर्थिक सहयोग गर्ने राष्ट्रले देशमा कुशल युवा नेतृत्व जन्माउन पनि लगानी गर्नुपर्छ भन्ने हो। राजदूत बोडी थप्छन्, "नेपालका युवाले कुन कुन क्षेत्रमा चुनौती झेलिरहेका छन् र त्यसलाई सुल्झाउन के के गर्न सकिन्छ भन्ने जानकारी प्राप्त गर्ने राम्रो माध्यम परिषद बनेको छ।" परिषदकै सल्लाहमा दूतावासले विभिन्न अवसरमा अमेरिकीबाटै विज्ञहरू राखेर डिजिटल भिडियो कन्फरेन्स सुरु गरसिकेको छ। विभिन्न देशका युवा परिषद सदस्यबीच भर्चुअल सम्बन्ध स्थापना गराएर युवाका सोचाइ आदानप्रदान गर्नु यसपटकको प्राथमिकता हुने सदस्य खरेलको भनाइ छ।
राजदूत-युवाबीच आफ्ना व्यक्तिगत अनुभव पनि साटासाट हुन्छन्। जस्तो : केहीअघि बोडीले कामलाई सानो-ठूलो नभनेर हरेक अवसरलाई स्वीकार्न र त्यही काम गर्दै अघि बढ्न आफ्ना युवा साथीहरूलाई सुझाएछन्। हरेक जागिरबाट आफूले केही न केही सिकेको अनुभव पनि उनले सुनाएछन्। पहिले आफ्नो करिअर विकासमा जोड दिन सुझाउने बोडी अंग्रेजी र प्रविधिको प्रयोगसँगै ठूलो सञ्जालमा काम गर्नुपर्ने दोहोर्याइरहन्छन्।
अमेरिकी विदेश मन्त्रालयको वेबसाइटका अनुसार परिषद सदस्यका विभिन्न नमुना क्रियाकलापमा दूतावासले धेरथोर आर्थिक सहयोग पनि गर्छ। जस्तो : गत वर्षका परिषद सदस्य सभाना पौडेलले विभिन्न २० वटा एफएम रेडियोमार्फत महिलाविरुद्ध हुने हिंसाबारे रेडियो कार्यक्रम प्रस्तुत गरनि्। भुवन केसीले 'सोलार कुकिङ् सिस्टम' विकास गरे।
अमेरिकी सरकारले स्थानीय युवाको भावना बुझ्न ३० वर्षमुनिका व्यक्तिहरूका लागि सांस्कृतिक आदानप्रदान कार्यक्रमलाई धेरै पहिलेबाट प्राथमिकतामा राख्दै आएको हो। राजदूत सुनाउँछन्, "जब हामीले यस्ता कार्यक्रमको थालनी गर्यौँ, तब हामीलाई विश्वभरका युवा आफ्नो मुलुकको विकासमा योगदान पुर्याउन बाटो खोजिरहेका रहेछन् भन्ने कुरा थाहा भयो। उनीहरू राजनीति र नागरकि समाजमा सहभागी हुन चाहन्थे।"
परिषदमा रहेका युवा कति विविधतापूर्ण क्षेत्र र परिवेशका छन् भने त्यहाँ नेटवर्कमा काम गर्ने एउटा राम्रो मञ्च बनिरहेको छ। त्यसैले यस वर्ष परिषदभित्रबाटै समूह बनाएर विभिन्न नमुना कार्यक्रमको योजना बनाइएको छ। दूतावास र युवासँग समन्वय गररिहेको संस्था 'युवा'का अध्यक्ष दीपेन्द्र केसी भन्छन्, "यसले नेपाली युवाको क्षमता विकाससँगै नयाँनयाँ प्रयोग गर्नसमेत सघाइरहेको छ ।"
(This news article was written by Pradip Basyal and first published in Nepal magazine.)